वास्तु पुरुषको भवन निर्माणमा महत्वपूर्ण स्थान हुन्छ । भवन निर्माणको योजना बनाउने समयदेखि नै विभिन्न प्रकारको वास्तुपुरुषको परिकल्पना गर्ने गरिन्छ । जसरी मानव शरीरमा विभिन्न प्रकारका अवयवहरू हुन्छन् त्यसैगरि वास्तुपुरुषको शरीरमा पनि विभिन्न प्रकारको अवयव रहेको हुन्छ जस्तो कि– शरीर, मुख, कम्मर, कपाल आदि । वास्तुपुरुषको कुन अङ्गमा के निर्माण गर्ने हो ? त्यसलाई यसै ग्लोबल वास्तुशास्त्रमा वर्णन गरिएको छ । जस्तो कि मर्म अङ्गमा कुनै पनि निर्माण कार्य गर्नु हुँदैन त्यस्तो स्थानलाई खुल्ला छाडिदिनुपर्दछ ।
गृह निर्माण योजनामा वास्तुमण्डल ८१ पदात्मक एवं मन्दिर र राजप्रासाद निर्माण योजनाको लागि ६४ पदात्मक वास्तुमण्डलको निर्माण एवं जन गर्ने विधान छ । वास्तुपुरुषको निधारमा ब्रह्मा, कानमा पर्जन्य र दिति, घाँटीमा जल, काँधमा जय र अदिति, छातिमा अर्यमा र भूधर, हृदयमा आपवत्स र इन्द्रादि पञ्चदेवता, दाहिने पाखुरामा नागादि देवता, देव्रे पाखुरामा सवित्री र रुद्र देव, देव्रे हातमा, छातीमा मैत्रेय, नाभिमा ब्रह्मा तथा पृष्ठमा इन्द्र र लिङ्गमा जय, दुवै तिघ्रामा अग्नि, रोग, पूषा र नन्दिगणादि सात देवता, गुल्फमा र पितृगण खुट्टामा रहेका हुन्छन् । ईशान कोणमा आप, आपवत्स, आग्नेय कोणमा सवित्र, सावित्री, नैऋत्य कोणमा इन्द्र, इन्द्रराज, वायव्य कोणमा रुद्र र पापयक्ष्म र मध्यको नौ पदलाई ब्रह्माको स्थान मानिएको छ । ब्रह्मालाई उत्तरको तीन पदमा, महिधर (पृथ्वीधर) दक्षिणको तीन पदमा विवस्वान, पश्चिमको पदमा मित्र र पूर्वको तीन दमा अर्यमा नामक देवतालाई स्थापित गर्ने गरिन्छ ।