मुख अनुसार भूमिको वर्गीकरण

आकार एवं भूमिको विश्लेषण
कुनै पनि भवनको प्रारूप बनाउने बेलामा पाँचवटा मुख्य सिद्धान्तलाइ ध्यानमा राख्नुपर्ने हुन्छ । हामीलाई थाहा छ कि मानवको शरीर पञ्चतत्व- जल, अग्नि, वायु, आकाश एवं पृथ्वीले बनेको हुन्छ जब यी पाँच तत्वको सन्तुलन शरीरमा हुन्छ तब मानिस स्वस्थ रहन्छ । त्यसैप्रकार भवन निर्माणमा पनि यिनै पाँच तत्वलाई ध्यानमा राख्नुपर्दछ ।
पृथ्वी
भवन निर्माणमा सवभन्दा पहिले पृथ्वीको (भूखण्ड) तात्विक एवं गुणात्मक दृष्टिले तथा आकार एवं प्रकारलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । पृथ्वी तत्वको शुद्धता एवं गुणात्मकताको लागि माटोको रङ्ग, त्यसको गन्ध, आद्रता, उर्वराशक्ति, माटोको आधारमा गर्नुपर्दछ । ता कि पृथ्वी तत्व भूखण्डको चयनपश्चात् भवनको ढल वास्तुअनुसार पूर्व, उत्तर अथवा ईशान कोणमा हुनुपर्दछ । ओसिलो पानी पलाउने जमीनमा बस्नु योग्य हुँदैन यदि रहेछ भने वास्तु अनुसार पिलर, गाह्रो र तलाहरु थप्नुपर्छ नत्र अशुभ फल दिन्छ ।
भवनको ढलसम्बन्धी शुभाशुभ फल

जल
भवन एवं भूमिमा आवास निर्माण गर्नुभन्दा पहिले जलको समुचित व्यवस्था गर्नुपर्दछ ताकि निर्माण कार्यको गति व्यवस्थित हुन सकोस् किन कि भवन निर्माण तथा प्राणीहरूको आवास जलपरक हुने भएकोले यसको महत्वपूणर् भूमिका रहन्छ । उत्तर-पूर्व या उत्तर भागमा जलको संसाधन तयार गर्नुपर्दछ । यसप्रकार भूमि चयनको लागि पृथ्वी तत्वको उपयोग गरेर जल तत्वको विचार गर्नाले अर्को भौतिक तत्वलाई भवनमा समाहित एवं उपयोग गर्ने दृष्टिले स्थान निर्धारित गर्नुपर्दछ । सामान्यतः आजभोली प्रत्येक गृहस्वामीले आफ्नै ट्यूबवेल बनाउन चाहन्छन् त्यस्तो ट्यूबवेल भूखण्डको ईशान कोणमा अथवा उत्तर एवं पूर्वतर्फ बनाउनु पर्दछ । ट्यूबवेल गाड्ने समयमा यसलाई विशेष रूपले ध्यान दिनुपर्दछ कि भवनको ईशानकोण र भूखण्डको ईशानकोणलाई मिलाउने रेखामा ट्यूबवेल गाड्नु हुँदैन ।
ट्यूबवेल विभिन्न दिशामा रहँदा हुने शुभाशुभ फल

अग्नि
अग्नि मानव जीवनको मुख्य आधार हो । वैदिक कालमा पाँच तत्वको उपासना नै प्रमुख लक्ष्य थियो । जसमा अग्निलाई देवस्वरूप मानेर हविष्य एवं हविष्यान्नको माध्यमबाट हवन यज्ञद्वारा भजन, पूजन र वरूण, इन्द्र, अग्नि, मरुत, रुद्र, विष्णु, पुषा आदि विभिन्न वैदिककालीन वताहरूलाई प्रसन्नार्थ आराधना गर्ने गरिन्थ्यो । तेजको सम्बन्ध सूर्य र सूर्यको रश्मिबाट हुन्छ अतः पूर्व- दक्षिण दिशा तेजको लागि भवन निर्माणको समयमा अग्नि स्थानको निर्धारण गर्नुपर्दछ । त्यसकारण वर्तमान परिप्रेक्ष्यमा अग्निको स्थान भान्साघरको रूपमा निर्धारित गरिन्छ ।
वायु
स्वच्छ वायुको सेवन स्वास्थ्य एवं दीर्घायुको लागि महत्वपूणर् तत्व हो । गृह निर्माणको समयमा वायु संरक्षणको लागि उचित स्थान निर्धारण गर्नुपर्दछ । यद्यपि वायुको सञ्चरण प्रत्येक दिशामा हुने हुँदा स्वास्थ्यको दृष्टिले भवन निर्माणको समयमा वायु एवं प्रकाशलाई विशेष ध्यान राख्नु आवश्यक हुन्छ । यसको लागि पश्चिम-उत्तर दिशा जुन वायव्य कोणको नामले जानिन्छ, वायुको लागि विशेष रूपले लिनुपर्दछ । भवनको पश्चिम र उत्तर दिशामा वायु सेवनको स्थान राख्नुपर्दछ । वायु तत्वको प्राप्ति यो दिशाबाट प्राप्त गर्नु स्वास्थ्य तथा प्राणी र भवनको दीर्घायुको लागि आवश्यक हुन्छ ।
आकाश
यहाँ आकाश शब्दको अर्थ हो भवन निर्माणको लागि खुलापन राख्नु । घरमा कक्षको ऊचाइ कक्षको अनुपातमा निर्धारित गर्नुपर्दछ ताकि वायुको प्रवाह सजिलै होस् । धेरै उचाइको कारण आकाश तत्व प्रभावित हुने गर्दछ । प्रायः यस्तो सुनिन्छ कि अमुक भवनमा भूतप्रेत पिचासको आभाष हुन्छ, यसको मूल कारण आकाश एवं वायु तत्वको सही निर्धारण नहुनु वैज्ञानिक आधार मानिएको छ । मानसिक रोगमा पनि यही कारण दृष्टिगोचर भएको देखिएको छ । विभिन्न विद्वान्हरूको यो तर्क छ कि पृथ्वी, जल, तेज, वायु, आकाशको दृष्टि सर्वत्र व्याप्त छ । कुनै पनि दिशामा यसको उपयोग गर्न सकिन्छ । यो सत्य हो कि पृथ्वीमा सबै तत्वको सञ्चारण भएको हुन्छ । किन्तु उपयोग गर्ने बेलामा जुन तत्व जुन दिशा शास्त्रमा निर्धारित हुन्छ त्यतैबाट प्राप्त गर्न सजिलो हुन्छ र कुनै कठिनाइ देखा पर्दैन । जस्तो आकाश तत्व प्राप्तिको लागि आकाश दिशा अर्थात् उचाइतर्फ नै आश्रित हुनुपर्दछ त्यही गर्नुपर्छ । यसप्रकार भवन निर्माणमा जुन तत्व, जुन दिशामा निर्धारण गरिएको छ त्यसको पालना गर्नाले लाभ हुन्छ अन्यथा हानिको नै बढी सम्भावना रहन्छ ।