भूमिको चयन गर्ने समयमा जग्गा कुन दिशामा अग्लो र कुन दिशामा होचो छ अर्थात् जग्गाको ढल कुन दिशामा छ त्यसको विचार गर्नुपर्दछ ।
विभिन्न दिशा एवं विदिशामा ढल हुँदा यसप्रकारले वणर्न गरिएको छ ।
१. भूमिको ढल पूर्वतर्फ हुन्छ भने त्यस स्थानमा लक्ष्मीको वास हुन्छ ।
२. भूमिको ढल पश्चिम दिशातर्फ हुन्छ भने त्यहाँ मरण अथवा मारक योग हुन्छ ।
३. भूमिको ढल नैऋत्यकोणतर्फ छ भने सधैं डर भइरहन्छ ।
४. भूमिको ढल उत्तर दिशातर्फ छ भने वंशवृद्धि, धनागम योग हुन्छ ।
५. भूमिको ढल ईशानकोणतर्फ छ भने लक्ष्मी प्राप्त हुन्छ ।
७. भूमिको ढल वायव्य कोणतर्फ छ भने परिवारमा मृत्युको सम्भावना सदैव रहिरहन्छ ।
८. भूमिको ढल आग्नेय कोणतर्फ छ भने त्यहाँ सदैव शोक हुने गर्दछ ।
पृष्ठानुसार भूमिको प्रकार
भूमि तल उल्लेख भएअनुसार चार प्रकारका छन् ।
१. गजपृष्ठ भूमि
२. कूर्मपृष्ठ भूमि
३. दैत्यपृष्ठ भूमि
४. नागपृष्ठ भूमि
१. गजपृष्ठ भूमि– जुन भूमि दक्षिण, पश्चिम, नैऋत्य तथा वायव्यमा अग्लो हुन्छ भने त्यसलाई गजपृष्ठ भूमि भनिन्छ । यस्तोमा निवास गर्नेले धनलाभ तथा आयुवृद्धि प्राप्त गर्दछन् ।
२. कूर्मपृष्ठ भूमि- जुन भूमि चारैतिरबाट तल भासिएको र बीचमा अग्लो हुन्छ भने त्यस्तो भूमिलाई कूर्मपृष्ठ भूमि भनिन्छ यस्तोमा निवास गर्नेले प्रतिदिन उत्साह, सुख तथा धन-धान्यमा वृद्धि गर्दछ ।
३. दैत्यपृष्ठ भूमि– जुन भूमि ईशान, आग्नेय तथा पूर्व दिशामा अग्लो र पश्चिममा होचो हुन्छ भने त्यस्तो भूमिलाई दैत्यपृष्ठ भूमि भनिन्छ । यस्तो भूमिमा निर्माण कार्य गर्नाले धन, जन, सुख-शान्तिमा हानि हुने गर्दछ ।
४. नागपृष्ठ भूमि– जुन भूमि पूर्व-पश्चिम दिशामा लामो, उत्तर-दक्षिण दिशामा अग्लो तथा बीचमा होचो हुन्छ भने त्यस्तो भूमिलाई नागपृष्ठ भूमि भनिन्छ ।
यस्तो स्थानमा निवास गर्नेलाई मृत्युको डर, जनहानि, पत्नी तथा बच्चाको हानि तथा शत्रु वृद्धि हुने डर भइरहन्छ ।
घर र जग्गाको ढलमा प्रत्यक्ष र तत्काल प्रभाव हुन्छ । त्यसकारण जग्गाको चयन र घर निर्माणमा ढलको विशेष महत्व हुने भएकोले सदैव ढलमा ध्यान दिएर चयन एवं निर्माण गर्दा शुभ एवं श्रेष्ठफल कारक हुन्छ ।
ढलको शुभ-अशुभ फल
१. पूर्व दिशातर्फ ढल भयो भने धन प्राप्ति हुन्छ ।
२. नैऋत्य कोणमा ढल भयो भने धन हानि हुन्छ ।
३. उत्तर दिशामा ढल भयो भने धनवृद्धि हुन्छ ।
४. आग्नेय कोणतर्फ ढल भयो भने दाह, आगलागी, इत्यादि दुर्घटनाको सम्भावना हुन्छ ।
५ वायव्य कोणमा ढल भयो भने प्रवासमा रहनेलाई अस्थिरता हुन्छ ।
७. दक्षिणमा ढल भयो भने मृत्युकारक योग बन्दछ ।
८. ईशान कोणमा ढल भयो भने ज्ञान प्राप्ति, मानसिक शान्ति, धर्म-कर्ममा अभिरुचि हुन्छ ।
९. पश्चिममा ढल भयो भने सन्तानको हानि एवं नाशकारक हुने गर्दछ ।
१०. पूर्व या उत्तरतर्फ ढल छ भने त्यो शुभकारक हुन्छ ।
भवन निर्माण गर्ने बेलामा उपयुक्त ढलसम्बन्धी कुरालाई ध्यानमा राखेर दोष हटाइयो भने त्यसबाट हुने असरबाट सजिलै बच्न सकिन्छ ।