वास्तुशास्त्रमा भूखण्डको दिशा, ढलको परीक्षणको साथै भूखण्डको आकारमा पनि विचार गर्नुपर्छ । जमीनको सम्भावित आकार एवं त्यसको फलको बारेमा यहाँ चर्चा गरिंदैछ ।
वर्गाकार भूमि—
जुन भूमिको लम्बाइ तथा चौडाइ बराबर हुन्छ त्यसलाई वर्गाकार भूमि भनिन्छ यस्तो भूमिमा निवास गर्नाले धन वृद्धि हुन्छ र मानसिक शान्ति प्राप्त हुन्छ ।
आयाताकार भूमि —
जुन भूमिको दुवैतर्फका कोण समान हुन्छन् त्यसलाई आयताकार भूमि भनिन्छ । यस्तो प्रकारको भूमिमा बस्नाले सबैप्रकारको सिद्धिदायक योग हुन्छ ।
वृत्ताकार भूमि —
गोलाकार भूमिलाई वृत्ताकार भूमि भनिन्छ । यस्तो भूमिमा निवास गर्नाले गृहस्थलाई धनागम तथा लाभ हुने गर्दछ ।
अण्डाकार भूमि —
भूमि हेर्दा अण्डा आकारको हुन्छ-यस्तो भूमिमा बस्नाले धन हानि, बिरामीको भय भइरहन्छ तथा यस्तो भूमि सबै प्रकारले हानिकारक हुने गर्दछ ।
मृदाङ्गाकार भूमि —
यस्तो भूमि हेर्दा मृदङ्गा (मादल) को आकारको हुन्छ, यसलाई मृदङ्गाकार पनि भनिन्छ । मृदङ्गकार भूमि स्त्रीहरूको लागि मृत्युकारक हुन्छ ।
व्यञ्जनाकार भूमि —
यस्तो भूमि पङ्खाको आकारको हुन्छ । व्यञ्जनाकार भूमि धन एवं पशुको लागि हानिकारक हुन्छ ।
धनुषाकार भूमि —
जुन भूमि धनुषको आकारको हुन्छ त्यसलाई धनुषाकार भूमि भनिन्छ । यस्तो भूमिमा निवास गर्नाले शत्रुभय भइरहन्छ, जुन एकदम कष्टकारक हुन्छ ।
अर्धचन्द्राकार भूमि —
जुन भूमि आधा चन्द्रमाको आकारको हुन्छ, त्यसलाई अर्धचन्द्राकार भूमि भनिन्छ । यस्तोमा निवास गर्नाले चोरी- कैती आदिको डर भइरहन्छ ।
डमरू आकारको भूमि —
जुन भूमि डमरूको आकारको हुन्छ त्यसलाई डमरू आकारको भूमि भनिन्छ । यस्तो भूमिमा निवास गर्नाले आँखाको रोग हुने गर्दछ । कहिलेकाहीं त अन्धो पनि हुन सक्दछ ।
विषमबाहु भूमि —
यस्तो भूमि टेढोमेढो खालको हुन्छ त्यसलाई विषमबाहु भूमि भनिएको छ । यस्तो भूमिमा निवास गर्नाले दुःख, अशान्ति तथा आर्थिक हानि हुने गर्दछ ।
चतुष्कोणाकार भूमि —
जुन भूमिमा चार कोण हुन्छन् त्यसलाई चतुष्कोणाकार भूमि भनिएको छ । यस्तो भूमिमा निवास गर्नाले सुख समृद्धि एवं शान्ति प्राप्त हुन्छ ।
सिंहमुखाकार भूमि —
भूमि जुन अगाडितर्फ धेरै र अगाडिको तुलनामा पछाडि कम हुन्छ त्यस्तो भूमिलाई सिंहमुखासन भूमि भनिएको छ । यस्तो भूमिलाई अशुभ मानिएको छ तर व्यापारिक प्रतिष्ठानको लागि भने यस्तो भूमिलाई शुभ मानिएको छ ।
गोमुखाकार भूमि —
जुन भूमिको भाग अगाडि कम हुन्छ तर अगाडिको तुलनामा पछाडि धेरै हुन्छ भने त्यस्तो भूमिलाई गोमुखाकार भूमि भनिएको छ । यस्तो भूमिमा निवास गर्नाले शुभ हुन्छ तर व्यापारिक प्रतिष्ठानको लागि अशुभ हुने मानिएको छ ।
अष्टकोण भूमि —
जुन भूमि आठ कोण भएर रहेको हुन्छ त्यस्तो भूमिलाई अष्टकोण भूमि भनिएको छ । यस्तो भूमिमा निवास गर्नाले सुख समृद्धि एवं शान्ति प्राप्त हुने गर्दछ ।
षट्कोणाकार भूमि —
जुन भूमिमा ६ कोणहरू देखिन्छन् त्यसलाई षट्कोणाकार भूमि भनिएको छ । यस्तो भूमिमा निवास गर्नाले उन्नतिदायक तथा सुख समृद्धि एवं शान्तिदायक हुने गर्दछ ।
भद्रासन भूमि —
जुन भूमिको लम्बाइ एवं चौडाइ समान हुन्छ तथा मध्य भाग समतल हुन्छ भने त्यस्तो भूमिलाई भद्रासन भूमि भनिन्छ । यस्तो भूमिमा निवास गर्नाले अति उत्तम हुन्छ । यस्तो भूमिमा निवास गर्ने मानिसको सबै प्रकारले उन्नति भएको हुन्छ ।
चक्राकार भूमि —
चक्रको आकार देखिने भूमिलाई चक्राकार भूमि भनिन्छ । यस्तो भूमिमा निवास गर्नेले आर्थिक कठिनाइको सामना गर्नुपर्दछ । यस्तो स्थानमा निवास गर्ने मानिसलाई दरिद्रताले सताउँछ ।
त्रिकोणाकार भूमि —
जुन भूमिमा तीनवटा कोणहरू हुन्छन् त्यसलाई त्रिकोणाकार भूमि भनिएको छ । यस्तो भूमिमा निवास गर्नेलाई सधैं राजभय भइरहन्छ ।
शकटाकार भूमि —
जुन भूमि गोरु गाडा आकारको हुन्छ त्यसलाई शकटाकार भूमि भनिएको छ । यस्तो भूमिमा निवास गर्नाले धन नाश, बिरामी तथा अग्निभय भइरहन्छ ।
भूमिको वर्गीकरण र फल
गजपृष्ठ- दक्षिण, पश्चिम शुभ ।
कूर्मपृष्ठ- बीचमा अग्लो र छेउमा होचो शुभ ।
दैत्यपृष्ठ- पूर्व, आग्नेय र ईशान अग्लो अशुभ ।
नागपृष्ठ- पूर्व र पश्चिम फराकिलो, उत्तर र दक्षिण होचो र बीचमा होचो अशुभ ।