यदि घरमा स्थान रहन्छ भने सकेसम्म पूजाघरको निर्माण ईशान कोणमा बनाउनु पर्दछ । स्थानको अभाव हुन्छ भने पनि सकेसम्म पूजाको स्थान त्यसैतर्फ बनाउने कोशिस गर्नुपर्दछ । ईशान कोणको स्वामी ईशलाई मानिएको छ, साथै यो कोण पूर्व एवं उत्तर दिशाको शुभ प्रभावले युक्त रहेको हुन्छ ।
पूजास्थलको निर्माण गर्दा पूजा गर्ने बेलामा व्यक्तिको मुख पूर्व दिशा अथवा उत्तर दिशातर्फ हुनुपर्दछ । हाम्रा धार्मिक ग्रन्थ एवं वास्तु ग्रन्थमा भनिएको छ कि धन प्राप्तिको लागि पूजा उत्तर दिशामा मुख पारेर गर्नुपर्दछ र ज्ञान प्राप्त गर्नको लागि पूर्व दिशातर्फ मुख पारेर गर्नुपर्दछ ।
पूजाघरसम्बन्धी वास्तु सिद्धान्त
- पूजाघरको भुइँको रङ्ग पहेँलो अथवा सेतो हुनुपर्दछ ।
- बहुमूल्य वस्तुहरू पूजाघरमा कहिल्यै पनि राख्नु हुँदैन ।
- पूजाघरमा विष्णु, इन्द्र, सूर्य, कार्तिकेय र शिवको मुख पूर्व दिशा अथवा पश्चिम दिशातर्फ हुनुपर्दछ ।
- पूजाघरको आग्नेय कोणमा हवनकुण्डको व्यवस्था गर्नुपर्दछ ।
- पूजाघरमा आलमारी बनाएर त्यसमा मुद्दामामिलासम्बन्धी कागजहरू राख्ने हो भने मुद्दामामिला विजय प्रप्ति गर्ने सम्भावना धेरै हुन्छ ।
- पूजाघरमा दुर्गा, कुबेर, गणेशको मुख दक्षिण दिशातर्फ हुनुपर्दछ ।
- पूजाघरमा हनुमानजीको मुख नैऋत्य कोणमा हुनुपर्दछ ।
- पूजाघरमा प्रतिमाहरूलाई कहिल्यै पनि प्रवेश द्वारको सम्मुख राख्नु हुँदैन ।
- फोहोरको भाँडो र कुचो राख्ने व्यवस्था पूजाघर र ईशानकोणभन्दा टाढा हुनुपर्दछ । यदि सम्भव हुन सक्दछ भने सफा गर्ने कुचोलाई घरको अन्य कोठाहरूमा छुट्टै राख्ने व्यवस्था मिलाउनुपर्दछ ।
- पूजाघर कहिल्यै पनि सुत्ने कोठामा बनाउनु हुँदैन । परिस्थितिवश यस्तो गर्नुपरेमा त्यस कोठामा विवाहितलाई बस्न ठीक हुँदैन तर यो पनि सम्भव हुँदैन भने अर्थात् विवाहित जोडीले पनि त्यही कोठामा बस्न बाध्य भएमा पूजास्थलको चारैतिरबाट पर्दा लगाउनुपर्दछ र त्यसलाई राती सुत्नेबेलामा पर्दाले ढाकेर देवशयन गराउनुपर्दछ ।
- पूजाघरलाई सँधैं शुद्ध, स्वच्छ एवं पवित्र राख्नुपर्दछ । यसमा कुनै पनि अपवित्र वस्तु राख्नु हुँदैन अर्थात् घरमा ईशान कोण सँधैं शुद्ध, स्वच्छ एवं पवित्र राख्नुपर्दछ ।