घरको मुख्य द्वारको समक्ष यदि कुनै बाधा हुन्छ भने त्यसलाई द्वारभेधको संज्ञा दिइएको छ, जस्तो कुनै द्वारको समक्ष खम्बा, भर्याङ्ग, ढोका, कोण, ठूलो रूख, मेशिन आदिलाई द्वारभेध मानिएको छ । घरको मुख्य द्वारको समक्ष द्वारभेध हुनुहुँदैन परन्तु द्वारभेध घरको उचाइको दुईगुणा भन्दा धेरै छ भने द्वारभेधको कुनै प्रभाव पर्दैन । वास्तुशास्त्रमा वणर्ित द्वारभेधका मुख्य नियमहरू छन्—
- मुख्य द्वारको समक्ष सदैव फोहोर हुँदा पनि द्वारभेध मानिएको छ । यस्तो भएमा शोककारक मानिन्छ ।
- मुख्य द्वारको समक्ष कुनै देवताको मन्दिर हुनु पनि द्वारभेध हो । यसबाट गृहस्वामी विनाशतर्फ अग्रसर हुने गर्दछन् ।
- यदि बाटो सीधा मुख्य द्वारमा आएर समाप्त हुन्छ भने त्यसलाई पनि द्वारभेध भनिएको छ यस्तो भयो भने गृह स्वामीकै लागि अशुभ हुने गर्दछ ।
- मुख्य द्वारको समक्ष इनार छ भने द्वारभेध हो यस्तो भयो भने बच्चाहरूका लागि दोषकारक हुने गर्दछ ।
- मुख्य द्वारको समक्ष वृक्ष हुन्छ भने त्यो पनि द्वारभेध हो, यस्तो हुनु पनि बच्चाका लागि दोषकारक हुन्छ ।
- मुख्य द्वारको समक्ष सदैव पानी बगिरहन्छ भने त्यो पनि द्वारभेध हो यस्तो भयो भने धनको अपव्यय हुने गर्दछ ।
झ्यालसँगसम्बन्धित वास्तु सिद्धान्त
झ्यालसम्बन्धी वास्तुशास्त्रको विभिन्न ग्रन्थमा विर्णत मुख्य नियमहरू निम्न प्रकारका छन् —
- वायु प्रदूषणबाट बच्नको लागि घरको जुन दिशामा शुद्ध वायु प्रवेश गर्दछ त्यसको विपरीत दिशामा एग्जस्ट फ्यान राख्नु पर्दछ । झ्यालहरूको संख्या सम हुनुपर्दछ ।
- झ्याल सँधैं भित्रतिर खुल्ने हुनुपर्दछ ।
- झ्यालहरू भित्ताको तल-माथि नबनाएर एकै लाइनमा बनाउनुपर्दछ ।
- उत्तर दिशामा धेरै झ्याल भयो भने त्यसले परिवारमा धन-धान्य वृद्धि गराउँछ । त्यहाँ लक्ष्मी तथा कुबेरको कृपादृष्टि हुने गर्दछ ।
- झ्याल ढोकाको समक्ष हुनुपर्दछ जसबाट चुम्बकीय चक्र पूणर् हुन सकोस् त्यस्तो भयो भने घरमा सुख-शान्ति भइरहन्छ ।
- पश्चिमी, पूर्वी र उत्तरी भित्तामा राखिने झ्याललाई शुभ मानिएको छ ।
- झ्याल दुईवटा खापा भएको बनाउनु पर्दछ । एक अथवा तीन पल्लाको हुनु हुँदैन ।
- झ्याल सम संख्या (२, ४, ६) को हुनुपर्दछ । यस्तो शास्त्रीय मत छ ।
घरको बालकोनी एवं बरण्डा
घरमा बालकोनी एवं बरण्डाको स्थान अति महत्वपूणर् हुने गर्दछ । बालकोनी, बरण्डा आदि घरको खुला स्थानमा हुन्छ ।

उपर्युक्त चित्रमा √ को स्थानमा बनाउनु उचित हुन्छ भने • को स्थानमा बनाउनु अनुचित हुन्छ मानिएको छ ।
जग्गामा उत्तर, पूर्व एवं ईशान कोणमा खुला स्थान धेरै राख्नुपर्दछ जब कि दक्षिण र पश्चिममा खुला स्थान कम राख्नुपर्दछ । बरण्डा खुला स्थानअन्तर्गत आउँदछ । अतः सुख-समृद्धिको लागि उत्तर-पूर्वमा नै बनाउनु पर्दछ, किनभने बिहानको सूर्यको किरण एवं प्राकृतिक हावा झ्यालको साथै बरण्डा एवं बालकोनीमा पनि आउनेगर्दछ ।
पश्चिम दिशामा जहाँसम्म हुन सक्दछ बालकोनी एवं बरण्डा बनाउनु हुँदैन किनभने अस्ताउने बेलाको सूर्यको रश्मि स्वास्थ्यको लागि लाभप्रद हुँदैन ।
बालकोनी एवं बरण्डाको स्थान जग्गाको दिशामा निर्भर हुने गर्दछ, परन्तु बिहानको सूर्य-रश्मिको प्रवेश एवं प्राकृतिक हावाको वहाव घरमा प्राप्त होस् । यदि दुईतले घर छ भने पूर्व एवं उत्तर दिशातर्फ घरको उचाइ कम गर्नुपर्दछ एवं माथिल्लो तलामा बालकोनी अथवा बरण्डा उत्तर या पूर्व दिशामा नै बनाउनु पर्दछ ।